काठमाडौं, ४ असार २०८२
सरकारले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त भएकाले आवेदन आह्वान गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि उपकुलपति सिफारिस समितिले आवेदन खुलाएको हो।
स्वास्थ्य मन्त्रालयका सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार योग्य इच्छुक उम्मेदवारलाई आवेदन दिन सूचित गरिएको छ। साथै, प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ।
सचिवालयका अनुसार चारै प्रतिष्ठानको उपकुलपति पदका लागि आवश्यक योग्यता फरक–फरक रहेको छ। तर, विशेषज्ञहरू भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू प्राज्ञिक थलो भएकाले उपकुलपति पदमा प्राज्ञिक व्यक्तिलाई मात्र चयन गर्न एउटै मापदण्ड बनाउनु आवश्यक रहेको सुझाव दिइरहेका छन्।