काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित भएका छन्।
कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ समारोहका बीच उनलाई सो सम्मान प्रदान गरिएको हो।
स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउनुभएको उत्कृष्ट नेतृत्व, व्यावसायिक कुशलता तथा देशको व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै भण्डारीलाई यो ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा मुलुकका विशिष्ट व्यक्तित्वहरू, प्रतिष्ठित उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अवार्ड ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै ह्याम्स अस्पतालले यस गौरवमय उपलब्धिका लागि खुसी व्यक्त गरेको छ। यो सम्मानले अस्पताललाई अझ बढी जिम्मेवार बनाउँदै आगामी दिनमा नेपाली नागरिकलाई अझ परिष्कृत, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप ऊर्जा र प्रेरणा मिलेको अस्पतालले जनाएको छ।
नेपालको स्वास्थ्य सेवा क्षेत्रमा ह्याम्स अस्पतालले विगत लामो समयदेखि आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अध्यक्ष भण्डारीको सबल नेतृत्वकै कारण अस्पतालले स्वास्थ्य क्षेत्रमा आफ्नो छुट्टै र विश्वसनीय पहिचान बनाउन सफल भएको छ।






