कैलाली, ५ कात्तिक २०८१
कैलालीस्थित गेटा अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा रहेको शल्यकक्षमा शल्यचिकित्सक डा. शंकर अधिकारीको टोलीले एक बिरामीको लाइपोमाको माइनर शल्यक्रिया गरिएसँगै गेटामा अव शल्यक्रिया सेवा सुरु भएको अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले जानकारी दिएका छन् ।
शल्यक्रिया गर्ने टोलीमा डा. अधिकारीसहित एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, ओटी नर्स रोशनी शाही, आरती भण्डारी र शर्मिला चौधरी र हेल्पर रोशनी चौधरी थिए ।
अस्पतालले आकस्मिक सेवा तिहारपछि सञ्चालनमा ल्याउने र त्यसपछि पाँच वटा मेजर शल्यकक्ष र ३० शय्याको आइसीयू समेत सञ्चालनमा ल्याउने डा. सापकोटाले जानकारी दिएका छन् ।
अस्पतालमा एक महिना अघि स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको थियो । गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ । अस्पतालमा दुई महिना अघिदेखि इनडोर सेवा सुरु भएको थियो । अस्पतालमा इन्डोस्कोपी सेवा पनि सुरु भइसकेको छ । सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएका छन् ।