✍️ रमेश कुवँर
धनगढी, २१ चैत्र २०७७
धेरैलाई जत्काल भन्ने शब्द नयाँ लाग्न सक्छ । सुदूरपश्चिमका सम्पूर्ण र मध्यपश्चिमका केहि जिल्लाहरूमा बोलिने डोटेली भाषामा जत्काल भनेको सुत्केरी हो । यस प्रदेशमा मातृ तथा बाल स्वास्थ्यको अवस्था अन्य प्रदेशको तुलनामा जोखिमपूर्ण मानिन्छ । गर्भवती हुँदा आमा र बच्चाको अवस्था पहिचान गर्न सदरमुकामै जानु पर्ने बाध्यताको अन्त्य गर्नुपर्ने थियो । समयमै जटिलता पहिचान गर्न नसक्दा आमा र बच्चाको ज्यान जानसक्ने जोखिमताले जनस्वास्थ्य क्षेत्र थप चुनौतिपूर्ण बन्दै थियो ।
आ.व. २०७५/०७६ मा यस्तै कुराहरुमा आधारित रहेर माननीय सामाजिक विकास मन्त्री श्री कृष्णराज सुवेदी, तत्कालिन सामाजिक विकास सचिव श्रीमान् गोगन बहादुर हमाल र जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्कीज्यूले नेपाल सरकारले शुरु गरेको ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई प्रदेशभरि लैजान पर्छ भन्ने विषयमा छलफल शुरु गर्नुभयो ।
निष्कर्षमा स्वास्थ्य निर्देशनालय डोटीबाट उक्त योजना कार्यान्वयनको लागि वित्तीय व्यवस्थापन गरियो । डा.गुणराज अवस्थी र उँहाको विशेष टिम बाहेक अरु कसैले यो खरिद गर्न सक्दैन थियो । खरिद त पर जाओस, कल्पना गर्ने आँट समेत गर्न सक्दैन थियो । प्रदेश सरकारको अपेक्षा बमोजिम यो योजना कार्यान्वयन गर्न सक्ने आट, प्राविधिक क्षमता र ल्याकत अरु कुनै अड्डाको थिएन भन्ने कुरा मन्त्रालयले राम्रो संग बुझिसकेको थियो ।
“आज स्वास्थ्यको क्षेत्रमा सुदूरपश्चिम प्रदेश उदाहरण बनेको छ । अन्य प्रदेशले पनि यो प्रदेशबाट यो कार्यक्रम सिक्न पर्छ । संघीय सरकार र अन्य कुनै प्रदेशले नसकेको ग्रामिण अल्ट्रासाउण्ड विस्तार कार्यक्रम (प्रदेशभरि) यो प्रदेशले गरेर देखाएको छ । प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद !” यो भनाई मेरो होईन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ आदरणीय महेन्द्र प्रसाद श्रेष्ठ सरको हो ।
सरकारी पद्दतिमा रहेर महावीर पुन वा डा. सन्दुक रुईतले खरिद गर्यो भने पनि कमिशन खायो होला भन्ने सोच्ने जनमष्तिक तयार भईसक्या छ । खरिद भन्दा वितिक्कै “खायो वा कमिशन” सम्झिने जनभावना, संचालित मिडिया आतंक, माफियाहरुको तिकडमबाझी, संवैधानिक आयोग लगायतले सृजना गरेका विभिन्न बाधा अवरोध बावजुद पनि डा. अवस्थी डगमग भएनन् । खायो वा खाएनन, खान्छन वा खादैनन् त्यो फरक पाटो हो । मैले यो सम्बन्धमा हाम्रो बुझाईलाई मात्रै चित्रण गर्न खोजेको हु । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमबाट आफ्नो पेशागत सिण्डिकेटमा जोखिमता महशुस गरेका केहि रेडियोलोजिष्टहरुका अवरोधहरुलाई पनि नजरअन्दाज गरि डा. अवस्थीले आफ्नो सुर र लय छोडेनन् । डा. अवस्थी बाहेक अरु कसैले यसको नेतृत्व गर्ने जिम्मेवारी पाएको भए जमानामा यो योजना ड्रप गरिसक्थे । बिजारोपण भन्दा पनि जन्माउनु र हुर्काउनु ठुलो कुरा हो । यहि लाईनमा अवस्थी डा साब र उँहाको टिम लागि रहयो र सफल भयो । हुनत यो शुरुवात हो । अझै धेरै बाँकी छ यसलाई संस्थागत गर्न । तैपनि यति सम्मको कष्टकर यात्रा हेर्दा डा. अवस्थी र उँहाको टिम प्रति उच्च सम्मान बढेको छ । राम्रो कुराको प्रशंसा गर्न चुक्नु हुँदैन भन्ने मान्यता बोक्ने व्यक्ति हु । कसैलाई यो अरु केहि पनि लाग्न सक्छ । लागे लागोस !
यो प्रदेश विशेष मातृ तथा बाल स्वास्थ्य सुधारको लागि ८८ वटै स्थानीय तहमा उक्त योजना लैजान पर्छ भन्ने समूहको सदस्य म पनि थिए । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको योजना निर्माणमा सलंग्न भएको ३ वर्ष भयो । यदि मलाई कसैले सोध्यो ! प्रदेश सरकारको स्वास्थ्य तर्फको सबै भन्दा महत्वपुर्ण र ठुलो प्रोजेक्ट कुन हो ? क्षणभर नसोचीकन “ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम” भन्छु म । यो बाहेक अरु थुप्रै योजनाहरु पनि छन जसलाई सम्झिँदा आत्मसन्तुष्टि हुन्छ । सरकारी कर्मचारी भएकोमा र नीति योजना निर्माण तहमा सलंग्न हुनुमा छुट्टै गर्व महशुस हुन्छ । यति धेरै अभौतिक आक्रमण पश्चात पनि लागु गरिएको “८८ वटै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम” को १ वर्षे नतिजा हेर्दा सार्है आनन्द आयो । अहिले यस प्रदेशका सम्पूर्ण स्थानीय तहहरुको गाउँ गाउँ, टोल टोलमा गर्भवती महिलाहरुको भिडियो एक्स रे मार्फत गर्भ जाँच भईरहेको छ । १ वर्षको प्रगति हेर्दा गाउँगाउँमा प्रदेशभरि भिडियो एक्स रे बाट ४५,१३५ जना गर्भवती आमा जाँच गरिएको रहेछ । ति मध्ये १५६२ जना जटिलतायुक्त गर्भवती पहिचान र प्रेषण गरिएको रहेछ । जटिलता मध्ये Anencephaly = ४० जना , Hydrocephaly = ३२ जना, Molar Pregnancy = ४१ जना, IUFD = ५४ जना, Oligohydromine = १६१ जना, Blighted Ovum = ३२ जना, Ectopic Pregnancy = ४ जना, Gastrochis = ४ जना, Fetal abdominal ascities = २ जना, Transverse lie = ६१ जना, Breech = ३०२ जना, Multiple Pregnancy = २३० जना, Placenta previa = ९७ जना, Low lying placenta = ३० जना, Posterior Placenta = १० जना, Polyhydraminos = २२ जना, IUGR = ८ जना, Bicornuate Uterus = २ जना, Cyst = १४ जना, Incomplete Abortion/Abortion Complication = २५ जना आदी । उपरोक्त शब्दहरु मेडिकल भाषामा भएकाले बुझ्न कठिन भएको होला । यदि यी समस्या समयमा पहिचान नगरिएको भए आमा र बच्चाको ज्यानलाई निकै जोखिम हुन्थियो । कतिपय त कुनै समाचारका अप्रिय हेडलाईन पनि बनि सक्थे । अब बुझ्नु भयो होला शायद !
अन्त्यमा, यो प्रोजेक्टको मियो भनेकै तालिम प्राप्त नर्स दिदीबहिनीहरु नै हुन । यँहाहरुले गरेको कार्य उत्कृष्ट छ । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको प्राण भनेकै तपाईहरु नै हो । यो कार्यक्रमलाई जीवित राख्नुहोला ! डा मिंगमार ग्याल्जेन शेर्पा र उँहाको टिम त यो कार्यक्रमको जननी दाता नै हुनुहुन्छ । तपाईहरु बिना यो लगभग असम्भव नै थियो । हार्दिक कृतज्ञता सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा ।
(लेखक सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीमा जनस्वास्थ्य अधिकृत हुन।)