काठमाडौं, १५ वैशाख, २०८२
कलकींस्थित रहेको दृष्टि आई केयर सेन्टरले आँखाको उपचारमा नयाँ प्रविधि भित्र्याएको छ । अस्पतालले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालले आँखा उपचारमा नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गरेको हो ।
आँखा उपचारमा यो अत्याधुनिक प्रविधि केराटोकोनस तथा अन्य कर्नियल समस्याबाट पीडित बिरामीका लागि प्रभावकारी मानिने गरिन्छ । यो प्रविधिले कर्निया मजबुत बनाउने र दृष्टि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अस्पतालले जनाएको छ।
आइ केयर सेन्टरले आफूलाई नेपालमा निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालहरूमध्ये सबैभन्दा ठूलो सञ्जाल भएको अस्पताल दाबी गर्दै आएको छ ।
अस्पतालले स्थापनादेखि नै सर्वसुलभ रुपमा अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको दृष्टि आई केयर कलंकीका प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठले बताउनु भयो । डा. श्रेष्ठका अनुसार बिना सुई मोतियाविन्दु शल्यक्रिया सेवा सफलतापूर्वक सञ्चालन गर्दै आएको अस्पतालले अब कर्नियल क्रस लिंकिङ प्रविधिको थालनी गरेर उपचार सेवामा नयाँ फड्को मारेको छ।
अस्पतालका मेडिकल निर्देशक डा. सविता पालिखेले आगामी दिनमा नयाँ प्रविधियुक्त रिफ्राक्टिभ सर्जरी सेवा पनि थपिने जानकारी दिइन्।