काठमाडौं, ०९ कात्तिक २०८२
स्वास्थ्यमन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा. शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।
प्रधानमन्त्रीबाट मन्त्रीका लागि सिफारिस भएका चार जनाको सपथ साढे २ बजेलाई तय भएको छ। प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्नका लागि राष्ट्रपतिकहाँ नाम सिफारिस गरेकी हुन्।
आईतबार हुने थप मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
भुमीसुधार मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिइने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। यसअघि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको थियो।
डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।
उनी २०६२/०६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् उनी । उनले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था ‘पापड’को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन्।
डा. सुधा प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् जनस्वास्थ्य विज्ञ पनि हुन्। उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।
डा. शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सकी फेलो हुन् र जन स्वास्थ्यमा स्नातकोत्तर गरेकी छन्। उनले नेपाल चिकित्सक संघका साथै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघको अध्यक्ष र एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।
डा. शर्माले विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरेकी छन्। प्रसूति गृह (प्रोपकार मेटरनिटी अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गरेकी उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
त्यस क्रममा उनले हेल्थ सेक्टर स्ट्राटेजिक प्लान, राष्ट्रिय पोषण रणनीति, बिग रिजल्ट नाउ इनिसिएटिम र ग्लोबल फाइनान्सिङ फ्यासिलिटीका लागि समेत योगदान पुर्याकएकी थिइन्।
हालै उनले स्वास्थ्य मन्त्रालय/ डीएफआईडीका लागि सल्लाहकारका रूपमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्व गरेकी छिन्।













