निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. मेराज आलम अन्सारीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ।
स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित भई सेवा प्रदान गर्दै आएका चिकित्सकहरूको योगदानलाई उच्च सम्मान गर्दै “स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारीलाई प्रतिष्ठित राष्ट्रिय हेल्थ अवार्ड–२०८२ प्रदान गरिएको हो।
अवार्ड कार्यक्रमका प्रमुख अतिथिका पूर्व स्वास्थ्य मन्त्री सुधा गौतम शर्माले डा. अन्सारीलाई अवार्ड प्रदान गरेकी थिइन्।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा, डा. अन्सारीले विशेषगरी सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेर वर्षौँदेखि स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पुर्याउँदै आएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो।
सीमित स्रोत–साधनका बीच पनि उनले बिरामीको उपचारमा देखाएको प्रतिबद्धता, दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउने प्रयास, र नयाँ पुस्ताका स्वास्थ्यकर्मीलाई मार्गदर्शन गर्ने भूमिकालाई उच्च मूल्यांकन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ ले डा. अन्सारी जस्ता समर्पित चिकित्सकहरूकै कारण देशको स्वास्थ्य प्रणाली मजबुत बन्दै गएको बताए। उनले यस्ता व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सम्मान गर्नुले अन्य स्वास्थ्यकर्मीलाई पनि अझ राम्रो काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे।
उक्त कार्यक्रममा देशका सातै प्रदेशबाट स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा विभिन्न संस्थाहरूलाई समेत गरी २० वटा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
यस नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिने व्यक्तिहरूको योगदानलाई उजागर गर्दै उनीहरूलाई सम्मानित गर्ने परम्परा कायम राख्दै आएको छ। यस्तो कार्यक्रमले स्वास्थ्य सेवामा समर्पित व्यक्तिहरूलाई थप हौसला प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ







