अर्घाखाँची, २७ कात्तिक २०८२
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारी लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ को प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित भएका छन । मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीबाट सम्मानित डा. तिवारीले विगत १० वर्षदेखि अर्घाखाँची अस्पतालको नेतृत्व गर्दै आइरहेका छन ।
डा. तिवारीको प्रशासकीय नेतृत्वमा अस्पतालको सेवा प्रवाह, सरसफाइ, व्यवस्थापन र उपचार प्रणालीमा उल्लेख्य सुधार आएको छ । उहाँको निरन्तर प्रयासबाट अस्पतालमा डिजिटल रेकर्ड प्रणाली, नयाँ उपकरण जडान, आपतकालीन सेवा सुदृढीकरण र बिरामी सल्लाह कक्षको सुधार जस्ता महत्वपूर्ण पहलहरू भएका छन् ।
बिरामीहरूका अनुसार डा. तिवारीको नेतृत्वपछि अस्पतालमा पहिलेको जस्तो ढिलासुस्ती, भीडभाड र अव्यवस्था हटेको छ। अस्पताल परिसर सफा र व्यवस्थित बनेको छ भने स्वास्थ्यकर्मीहरूको व्यवहारमा पनि सुधार आएको छ । डा. तिवारी स्वयं बिरामीका समस्या सुन्न र स्वास्थ्यकर्मीबीच समन्वय कायम गर्न सक्रिय रहँदै आएका छन ।
डा. तिवारी भन्नुहुन्छ, “सरकारी अस्पताल पनि उत्कृष्ट सेवाको केन्द्र बन्न सक्छ भन्ने उदाहरण देखाउने हाम्रो प्रयास हो । सिमित स्रोतसाधनका बाबजुद पनि हामीले सक्दो सुधार गर्ने संकल्प गरेका छौं।”
स्थानीयवासी र बिरामी दुवैले डा. तिवारीको सेवा र प्रयासको उच्च प्रशंसा गर्दै अर्घाखाँचीमा उपचार सेवा अब धेरै भरपर्दो भएको बताएका छन् । डा. तिवारीले उपचार र प्रशासनिक दुवै क्षेत्रमा अब्बल साबित भएर बिरामीको मनमा बस्न सफल भएका छन











