काठमाडौं, २० माघ २०७७
मंगलबार चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले तीन साता भित्र माग पुरा नगरे अगामी फागुन १२ गते देखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
पटक-पटक चिकित्सा शिक्षाका विषयमा विभिन्न माग राख्दै अनसन बस्दै आएका डा. केसीले यो पटक मेडिकल शिक्षाभन्दा फरक किसिमको माग राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने र विधि/प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द हुनुपर्ने माग राखेर २०औं अनसन बस्ने घोषणा गरेका हुन्। उनले ती दुई माग अबको तीन सातामा पूरा नभए २०औं अनसन सुरु गर्ने घोषणा गरिएको छ।
डा. केसीले यसअघि गत भदौं २९ गतेदेखि असोज २५ गतेसम्म अनसन बसेका थिए। डडेल्धुराबाट १९औं अनसन सुरु गरेका डा केसीलाई अनसनरत अवस्थामै काठमाडौं ल्याइएको थियो।
यस अघि अनसनको २७औं दिनमा सरकारी वार्ता टोलीले सहमति गरेपछि २८औं दिनमा उनको अनसन तोडिएको थियो।