काठमाडौं, १३ फागुन २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि डा. बिकास देवकोटा, डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस भएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना अतिरिक्त सचिवको नाम सिफारिस हो ।
फागुन १२ बाट स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।
स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रूपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन्।
डा. बिकास र डा. टंक भने ११ औं र १२ औं तहमा सँगै बढुवा भएका हुन् । नियुक्ति सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गर्नेछ।
स्वास्थ्य सेवा प्रवेशको आधारमा हेर्दा तीन जनामध्ये सबैभन्दा अगाडि २०५३ सालमा डा. विकास देवकोटाले प्रवेश गरेका थिए। तत्कालिन समयमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। त्यसपछि डा. टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गरेको देखिन्छ। डा. संगिता भने २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन्। डा. संगिताले २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन स्वास्थ्य सेवामा काम सुरु गरेकी हुन्।