कैलाली, २३ फागुन २०८२
कैलाली निर्वाचन क्षेत्र नं.५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.आनन्द बहादुर चन्द विजयी भएका छन्।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार ३१ हजार ९५३ मत ल्याएका चन्दले प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नर नारायण शाहलाई पराजित गरेका हुन । शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा पुर्वमन्त्री नेकपाका प्रेम आलेमगरले ७ हजार ९५८ मत सहित तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन शाहीले १ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।
जनस्वास्थ्यकासवालमा पनि चन्द सक्रिय अभियन्ता हुन्। सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगविरुद्धको अभियानमा उनी अग्रपंक्तिमा देखिन्छन्। धूम्रपान नियन्त्रण, सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, विज्ञापन नियन्त्रणजस्ता नीतिगत सुधारका विषयमा डा. चन्दले सरकारलाई सुझाव दिने मात्र होइन, कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने काम पनि गरेका छन्।
डा. चन्दले नसर्ने रोगसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरू (आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको र इन्डोनेसियासम्म)नेपालको प्रतिनिधित्व गर्दै नेपालको अनुभव र चुनौतीबारे आवाज उठाएका छन्।
प्रशासनिक क्षेत्रमा पनि उनले सुधारका प्रयास गरेका छन्। नेपाल खाद्य संस्थानको अध्यक्षका रूपमा संस्थागत सुधारको पहल गरेका चन्द बी.पी. कोइराला मेमोरियल प्लान्टेरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशकसमेत रहिसकेका छन्
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज डा.आनन्द बहादुर चन्दलाई विजयी घोषणा गरेको छ।





