काठमाडौं, १० माघ २०८२
नेपाल डेन्टल एसोसिएसनले बिरामीलाई उपचारसम्बन्धी पूरा जानकारी दिने र सहमति (कन्सेन्ट) प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
काठमाडौंमा भएको कार्यशाला गोष्ठीमा विभिन्न डेन्टल सोसाइटीका विज्ञहरु र रिजनल सोसाइटीका विज्ञहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपचार अघि बिरामीले आफ्नो रोग, उपचार प्रक्रिया, सम्भावित जोखिम तथा अन्य आवश्यक विषयमा जानकारी पाउने अधिकारबारे छलफल गरिएको थियो।
भविष्यमा कानुनी तथा व्यावसायिक जटिलता नआओस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डेन्टल एसोसिएसनका महासचिव डा. प्रदिप भण्डारीले बताएका छ्न।
डा. भण्डारीले नेपाल मेडिकल काउन्सिल र उपभोक्त अदालतमा आएका उजुरी हेर्दा डाक्टर र बिरामी बिच सञ्चार ग्याप राख्दा समस्या पाएको हुँदा यो कन्सेन्ट कार्यशालाले यो ग्यापको कमी नहुने बताए।
डा. भण्डारीका अनुसार उपचारबारे पर्याप्त जानकारी र सहमति नलिएको अवस्था देखिएकाले दन्त चिकित्सकहरूलाई सचेत गराउन यो कार्यक्रम गरिएको हो।
एसोसिएसनका अध्यक्ष डा. अजय कुमार शाहले बिरामी र डाक्टरबीच विश्वास र सुमधुर सम्बन्ध कायम गर्नु आजको आवश्यकता भएको बताए।
बिरामीलाई उपचारबारे स्पष्ट र लिखित जानकारी दिँदा दुवै पक्ष सुरक्षित हुन्छन् र उपचार प्रक्रिया पारदर्शी बन्ने उनले बताए।
डा. शाहका अनुसार नेपाल डेन्टल एसोसिएसनले छाता संगठनमा आवद्ध तथा आवद्ध नभएका सबै काउन्सिल दर्ता दन्त चिकित्सकहरूसँग यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
कार्यशालामा बिरामीलाई उपचार अघि लिखित रूपमा जानकारी दिने, सम्भावित जोखिमबारे स्पष्ट रूपमा बुझाउने र सहमति अनिवार्य रूपमा लिने विषयमा जोड दिइएको थियो।
एसोसिएसनले यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।











