डडेल्धुरा, २६ माघ २०७८
डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा नभई मेडिकल कलेजका रुपमा विस्तार गर्ने मन्त्रीपरिषदले निर्णय छ।
मन्त्रिपरिषदको माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदले मेडिकल कलेजलाई भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने गरी निर्णय गरेको हो।
‘स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेल्धुरा अस्पताल नै आधार संकाएका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकताका साथ अघि बढाउने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।
स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै प्रस्ताव लगेको थियो। तर मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।