काठमाडौं, ६ साउन २०८०
नेपालमा पहिलो पटक अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्याको उपचारका लागि लक्षित विशिष्टकृत अस्पताल स्थापना हुने भएको छ ।
अन्तराष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नि:शुल्क उपचार गर्ने उदेश्यले काठमाडौंको नख्खुमा उक्त अस्पताल निर्माण हुन लागेको हो । उक्त एकद्वार उपचार केन्द्र (नेशनल इन्स्टिटयुट अफ क्रेनियोफेसियल सर्जरी) को आज सिलन्यास गरिएको छ ।
क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालमा खुडेपन तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुको निशुल्क उपचार हुने डा. सुमित सिंहले जानकारी दिनुभयो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको सहकार्यमा यसै हप्तादेखि सेवा सुरु गरिने बताउनुभयो । कान्तिपुर डेन्टल कलेजमानै उक्त सेवा सुरुवात गरिने डा. सिंहले बतानउनुभयो ।
नेपालमा हरेक आठ सयमा एक जनामा खुडेपनतथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको बताउँदै डा. सिंंहले आफ्नै अगुवाइ तथा आर्थिक लगानीमा सुविधासम्पन्न अस्पतालको स्थापना गर्न लागिएको बताउनुभयो । डेढ वर्षभित्र सञ्चालनान ल्याउने उद्धेश्य राखिएको उक्त अस्पतालमा ३० भन्दा बढी चिकित्सक रहने पनि उहाँले बतानउनुभयो ।
सुरुवातमा प्रति वर्ष करीब ५ सय जनालाई निशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने लक्ष्य अस्पतालको रहेको छ । कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले आफू २५ वर्षदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आवद्ध रहेको बताउँदै आफ्नो अस्पतालमा रहेको स्रोत साधनको उपयोग गरि खुडेपनतथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिको सम्पूर्ण उपचार निशुल्क गरिने बताउनुभयो ।
उहाँका अनुसार यस किसिमका समस्याका बिरामीको उपचार पूरा गर्न ६ चरण पार गर्नपर्छ । उपचार पूरा नहुन्जेलसम्म बिरामीको साथमा आउने एकजना कुरुवाकोसमेत यातायात, खाना, खाजाको खर्च समेत व्यहोर्ने उहाँले बताउनुभयो ।
बिरामीको अवस्था हेरि एक व्यक्तिको २० हजारदेखि २० लाखसम्म खर्च लाग्ने उहाँले बताउनुभयो । खुँडेपन तथा अनुहारका हड्डीहरुको गडबढीबाट समस्या भोगिरहेका व्यक्तिलाई उच्च स्तरीय उपचार पद्धतीबाट उपचार गरि उनीहरुको जीवनस्तरमा सुधार ल्याउनु यस अस्पतालको प्रमुख उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
खुडोपन दुर्घटना वा कहीँकतैबाट लड्न गई या जन्मजात हुन सक्छ । गर्भवती समयमा आमाले पोषणयुक्त खाना नखाँदा जन्मजात बच्चाहरुको खुँडोपनको समस्या निम्तन सक्छ । यो गर्भ अवस्थामा बच्चा बन्ने क्रममा विभिन्न कारणवश ओठ तथा मुख बनाउने अंग ( मेडिएन न्याजल प्रोसेस र प्यालटाइन प्रोसेस अफ म्याग्जीला) मा खराबी आएका कारणले हुन्छ।