काठमाडौं, १३ जेठ २०८२
भारतमा कोभिड-१९ (कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगाल राज्यमा समेत फेला परेका छन्।
कोरोना संक्रमण भएका ७ जना व्यक्तिहरूको ज्यान गएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ र यसका उप-भेरियन्टहरू एलएफ ७ र एनबी १.८ हाल विश्वका विभिन्न देशहरूमा फैलिएको पाइएको छ ।
एसीयाली देशहरू सिंगापुर, हङकङ, चीन, थाइल्यान्ड र भारत जस्ता देशहरूमा नयाँ केसहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यसरी यसरी अन्य देश र भारत समेत कोरोना संक्रमण बढेको खबरपछि नेपालमा पनि यसबारे चासो बढ्न थालेको छ । केही वर्षअघि जस्तै महामारीको रुप लिएर सताउने त होइन भन्ने चिन्ता आम व्यक्तिमा बढेको पाइन्छ ।
नेपालमा कोरोना संक्रमण फैलिने सम्भावना कस्तो छ ? अहिले देखिएको नयाँ भेरियन्ट कत्तिको संक्रमाक र घातक छ ? यस खालका जिज्ञासा धेरैको मनमा हुन सक्छ ।
नेपालमा के छ सतर्कता
नेपालमा कोभिड-१९ भाइरसबारे धेरै तथ्य आइनसकेको र धेरै डराउनेपर्ने अवस्था नभएको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । ‘अहिले फैलिएको भेरियन्ट कति संक्रामक र कति घातक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ’ डा. पुन भन्छन्, ‘छिमेकी मुलुकहरूको तथ्याकं हेर्दा धेरै संक्रामक र घातक भएको देखिँदैन, त्यसैले डराइहाल्नु पर्ने अवस्था छैन।
कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा सङ्क्रमण देखिने सम्भावना बढी हुने भएकाले सचेत भने भइरहनुपर्ने उनको भनाइ छ । विगतमा कोभिड उतारचढाव भोगिसकेकाले पनि यसबारे चासो चिन्ता धेरै हुनु स्वभाविक रहेको पुन बताउँछन् ।
सब-भेरियन्टहरू देखिएलगत्तै धेरैको मनमा यसको संक्रामकता र जटिलतालाई लिएर चासो, चिन्ता र जिज्ञासा उत्पन्न भएको देखिने डा. पुनले बताए । कहिलेकाहीँ घातक पनि बन्न सक्छ त्यसैले सतर्क हुन एकदमै जरुरी छ।
कसैलाई यसका लक्षणहरू देखिएमा सामान्य रुघाखोकी हो कि भनेर लापरबाही नगर्न डा. पुनको सुझाव छ ।
सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । कोरोना सङ्क्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकोले सङ्क्रमितको सङ्ख्या बढेको बेला मानिसहरू कोरोनाको आशंका गर्न सक्छन् । तर, यो कोरोनाको सब-भेरियन्ट नै हो कि हैन भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्ने डा. पुन बताउँन्
के छ सरकारको तयारी ?
यो कोरोनाको नयाँ भेरियन्टसँग धेरै डराइहाल्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । छिमेकी देशतिर नयाँ कोरोना संक्रमितहरू भेटिएपछि सरकारले पूर्वतयारी थालिसकेको उनले जानकारी दिए ।
‘छिमेकी मुलुकमा नै यो फैलिएकोले हाम्रो भारतसँग जोडिएका १७ वटा नाकामा रहेका स्वास्थ्यकर्मीहरूलाई सचेत रहन निर्देशन गरिसकेका छौँ’ प्रवक्ता बुढाथोकीले भने, ‘कस्तो अवस्थामा शंका र परीक्षण गर्ने भनेर सम्झाएर परीक्षण किट पनि पठाइसकेका छौँ ।’
डा. बुढाथोकीका अनुसार बाँकी थप नाका र अस्पतालहरूमा बिरामी आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर निर्देशन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि नमुना लिएर जिन सिक्वन्सिङ आग्रह गरिएको छ । साथै टेकु अस्पताललाई पनि तयारी रहन निर्देशन दिइएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
नेपालमा यो देखिएको छैन । छिमेकी मुलुकमा पनि केही मात्रामा मात्र देखिएकोले खासै नडराउन उनको आम व्यक्तिहरूलाई सुझाव छ ।
कोरोनाको नयाँ भेरियन्टको परीक्षण भइनसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुवेदी बताउँछन् । ‘नयाँ भेरियन्टको परीक्षण भएको छैन, तर आवश्यक परेको खण्डमा हामी परीक्षण गर्न सक्छौँ’ सुवेदीले भने । नियमित कोरोना परीक्षण भने भइरहेको र परीक्षणमा कोरोना सङ्क्रमितहरू बढेको नदेखिएको सुवेदीले जानकारी दिए ।
अन्य देशमा संक्रमण बढेको थाहा पाएपछि शंकास्पद लक्षण देखिएपछि परीक्षण गर्न आउने व्यक्तिहरूको सङ्ख्या भने पछिल्लो समय केही मात्रामा बढेको सुवेदीले बताए ।
सतर्कता जरुरी
कोभिड–१९ का प्रजातिले आफ्नो स्वरूप बदलिरहने हुँदा सधैँ ढुक्क हुन नसकिने डा. पुन बताउँछन् । त्यसैले सतर्कता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी रहेको उनको भनाइ छ । पहिले देखि भन्दै आएका साबुन पानीले पटक–पटक हात धुने । धेरै भीडभाडमा नजाने, मास्क लगाउने । साथै खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने परीक्षण गर्न जाने लगायतको कुरामा सचेत हुनुपर्ने डा. पुनको सुझाव छ।