१४ बैशाख ,२०७७
नेपाल सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।
त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।
हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।