काठमाडौं, ३१ बैशाख २०८१
नेपालमा हुने क्यान्सर रोग उपचार बारे जनचेतनाको शन्देश बोकेको ‘के डेरा के घर’ नामक टेलि चलचित्र महजोडीले सार्वजनिक गरेका छन्।
समयमै क्यान्सर पत्ता लगाएर उपचार गर्न सकेमा विगतको तुलनामा नेपालमै सुलभ र गुणस्तरीय उपचार हुन्छ र विरामीले पनि त्यति झण्झट बहोर्नुपर्दैन भन्ने सन्देश दिनका लागि क्यान्सररोग लागेका एकजना विरामीको घटनालाई समेटेर मह सञ्चारले ‘के डेरा के घर’ टेलि चलचित्र बनाएको छ।
टेलि चलचित्रमा लामो समयदेखि चुरोटको लत लागेका हरिवंशलाई फोक्सोको क्यान्सर लागेपछि मुखले ठिक्क पार्ने छिमेकी र आफन्तले उपचारको लागि विरामीलाई विदेशमा लैजान गलत सल्लाह दिएपछि उपचार खर्च जुटाउनको लागि काठमाडौंको आफ्नो महंगो घर आफ्नै घरमा भाडामा बस्ने मदनकृष्णलाई बेचेर हरिवंश सोही घरमा भाडामा बस्न वाध्य भएको कथावस्तुलाई आधार बनाई मह सञ्चारले ‘के डेरा के घर’ बनाएको हो।
नेपालमै क्यान्सरको उपचार गर्ने अत्याधुनिक र सुविधासम्पन्न अस्पताल तथा विशेषज्ञ चिकित्सकहरु हुँदाहुँदै पनि क्यान्सरका विरामीलाई उपचारको लागि विदेशमा लैजाँदा धेरै खर्च लागेर आफुले दु:ख गरि जोडेको एउटै मात्र घर पनि बेच्नु परेको तितो यथार्थ सो टेलि चलचित्रमा समावेश गरिएको छ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, नरेन्द्र कशांकार, नारायणदेवी श्रेष्ठ, सिरु बिष्ट, सावित्री शर्मा, राजु भुजु, शशिकुमार खड्का,पुजा लिम्बु, ओजश्वी बिष्ट, दिपक कोइराला, सहारा कोइराला लगायतको भूमिका रहेको सो टेलि चलचित्रलाई मह जोडीले निर्देशन गरेका छन्।
राजधानीको सुन्धारास्थित सिटिसी मलमा शुक्रबार ‘के डेरा के घर’ को प्रिमियर शो देखाइयो। मह सञ्चारका संस्थापक एवम् निर्देशकद्वयको उपस्थितिमा देखाइएको सो प्रदर्शनीमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले क्यान्सरको जनतेचनामुलक कार्य गरेकोमा धन्यवाद दिदै, क्यान्सर बारेको जनचेतना फैल्याउन सहकार्य गर्न महानगर तयार रहेको बताए। उनले भने ‘मेरो कार्यकाल मात्र तीन वर्ष बाँकी छ, तर यस अवधीमा धेरै काम गर्छु। म हल्ला हैन काममा विश्वास गर्छु। स्वास्थ्य क्षेत्रमा काम गर्न सहकार्य गर्नेछु।’
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचारको लागि अहिले विश्वस्तरीय अस्पतालहरु र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि धेरै नेपाली विरामीहरु आफन्त र छिमेकीको गलत सल्लाहमा उपचारको लागि विदेशिने गरेको र यसबाट लाखौं नेपाली रुपैयाँ विदेशिने गरेको र विरामी र विरामी कुरुवाले दु:ख पाउने गरेको बताए।
कार्यक्रममा पहिलो महिला मोडेल एवम् क्यान्सर विजेता डली गुरुङ्ग याकथुम्बा, क्यान्सर विजेताहरु गायीका संगिता शाक्य थापा, ताराप्रसाद त्रिपाठीलाई प्रमुख अतिथी बनाइएको थियो।
त्यसैगरी टेलिचलचित्रका निर्माण संयोजक किरण श्रेष्ठ, रोटरी क्लव यलका पदाधिकारी, नेपाल अर्वुद्ध रोग निवारण संस्थाका पदाधिकारीहरु, क्यान्सर विजेताहरु एवम् उपचारको लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठ मेडिकल निर्देशक डा. विजेशराज घिमिरे, लगायतको उपस्थिति रहेकोे थियो।
टेलिचलचित्र निर्माणमा मदन देवी फाउण्डेशन ललितपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, आईजिआई प्रुडेन्शियल इन्सुरेन्स, नेपाल अर्वुद्धरोग निवारण संस्था ललितपुर शाखा, रोटरी क्लव अफ यल, उपचारको लागि सहयोगी हातहरु, ललितपुर महानगरपालिका वडा नं १६ र पुर्ण मंगल जोशीको आर्थिक सहयोगमा बनाइएको हो।
शुक्रबार अपरान्ह ३ बजेदेखि युट्युबमा राखिएको सो टेलि चलचित्र शनिबार साँझ आजसम्म ५१ हजारले हेरिसकेका छन्।