नमराज भट्ट
बुटवल , ८ भाद्र २०७७
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचार शुरु भएको छ ।
अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेकी ७० वर्षकी महिलाको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।
ती महिलाका लागि केही दिनअघि कोरोना संक्रमणबाट मुक्त भएका लुम्बिनी प्रादेशिक अस्पताल चिकित्सक डा. साजन श्रेष्ठले सोमबार रगत दिएका छन् । ‘अस्पतालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार शुरु गरेका हौं प्लाज्मा थेरापी दिउँसो १ बजे तिर गरिएको र समय एक घण्टा जति लागेको थियो ’–अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘यो विधिबाट संक्रमित निको भए अरु विरामीहरुमा पनि गर्छौं ।’
नेपालको राजधानी काठमाडौं बाहिर पहिलोपटक शुरु गरिएको प्लाज्मा थेरापीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल, कोरोना फोकल पर्सन थापा, डा . पुस्पराज जोशी, डा. नन्दु पाठक, सत्य राज शाक्य ,नेपाल चिकित्सक संघ लुम्बिनि शाखा, लुम्बिनि प्रादेशिक अस्पतालका कर्मचारी, पारामेडिक्स,नर्स र रक्तसचार केन्द्र बुटवलको समेत संयुक्त प्रयास रहेको कन्भेलजेन्ट प्लाज्मा र रेम्डेसिभर उपचार लुम्बिनी अस्पतालका संयोजक डा सम्राट पराजुलीले बताए ।
कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउंछन् । यो उपचार विधि सफल हुने नहुने अझै निश्चित भने छैन ।