काठमाडौं, १८ माघ २०७७
काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।
फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले १ हजार ८६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । केही दिनअघि भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।
विगत एक महिनादेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा पनि यो रोगको जोखिम बढेको भन्दै रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्क अवस्थामा राखिएको छ ।
भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।
यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गर्दै सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन भनेको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागले भनेको छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।
उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।
चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बर्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ ।
[आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।]
Comments 3