बाँके, १५ पुष २०८१
नेपालगन्जस्थित भेरी अस्पतालले फ्याक्टर रिप्लेसमेन्ट सेवा सुरु गरेसँगै हेमोफिलियाका दुई जना बिरामीले नेपालगन्जमै उपचार सेवा पाएका छन ।
हेमोफिलिया रगत सम्बन्धी आनुवंशिक रोग हो । भेरी अस्पतालले रगत रोग विशेषज्ञ प्राडा. विशेष पौडेल, विश्व हेमोफिलियाका महासंघ, नेपाल हेमोफिलियाका सोसाइटीसँग सहकार्य गरेर फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाकाका बिरामीहरुको उपचार सेवा सुरु गरेको हो ।
नेपालगन्जका हेमोफिलियाका फ्याक्टर IX का ११ वर्षीय बालक र खजुराका हेमोफिलियाका फ्याक्टर VIII का २२ वर्षीय युवाले भेरी अस्पतालमै सहजै उपचार सेवा पाएका छन् । दुवै बिरामीहरुलाई भेरी अस्पताल नेपालगन्जमै फ्याक्टर चढाएर उपचार गरिएको हो ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवं मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डे र बाल रोग विभागका प्रमुख बाल रोग विशेषज्ञ डा. प्रतिमा खड्कासहित चिकित्सक र नर्सको टिमले दुवै जना बिरामीको उपचार गरेका हुन् । भेरी अस्पतालमामै उपचार सेवा सुरु भएपछि हेमोफिलियाका बिरामीले नेपालगन्जमै सहज रुपमा उपचार सेवा पाएका छन् । विगत २० वर्षदेखि काठमाडौंमा छोराको उपचार गराउँदैं आएका खजुराका राम प्रसाद रेग्मीले भने, ‘भेरी अस्पतालमै भर्ना भएर फ्याक्टर VIII चढाएर तीन दिनमै डिचार्ज भयौं ।
उपचारका लागि काठमाडौं जान परेको भए एक हप्ता लाग्थ्यो । ७०/८० हजार खर्च हुन्थ्यो । नेपालगन्जमै २५-३० हजारमै उपचार हुँदा धेरै सहज भयो ।’ फ्याक्टर IX ११ वर्षीय बालक पेटमा रगत जमेका कारण अत्याधिक दुखाइ भएपछि भेरी अस्पतालमा भर्ना भएका थिए ।