चितवन, १४ मंसिर २०८१
भरतपुर अस्पतालले पछिल्लो समय उपचार सेवालाई विविधिकरण गर्दै आएको बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर प्रदान गरेको छ ।
अस्पतालले बाल रोग विभागसँगै ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेत प्रदान गरेको हो ।
अस्पतालको बाल रोग विभागमा भर्ना भएर उपचाररत सिकिस्त बिरामी बाहेकका बालबालिकालाई बिरामी छु भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
डा. पौडेलका अनुसार उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ । अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने गर्छन् । यसरी उपचार गर्दा बालबालिकाको रोग समेत छिटो निको हुन्छ ।
अस्पतालमा घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने भन्दै मेसु प्रा.डा. पौडेलले भन्नुभयो “बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरेका हौं ।” कक्षमा बालबालिकाले खेल्ने सामग्री, विभिन्न बाल पत्रपत्रिका, सचित्र पुस्तक जस्ता सामग्री राखिएका छन् ।
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको भन्दै क्रमशः थप व्यवस्थित गर्दै लैजाने डा. पौडेलले बताउनुभयो । अस्पतालमा दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उहाँको भनाई छ । अस्पतालको बाल रोग विभागमा ६६ शैया रहेका छन् । ती शैया प्रायः भरिभराउ हुने गरेका छन् । भर्ना भएका सबैले खेल्न र पढ्न नसक्ने भन्दै अस्पताल भर्ना गर्नुपर्ने तर खेल्न सक्ने बालबालिकाका लागि यो सेवा उपयोगी हुने डा. पौडेलले बताए ।
अस्पताल आफैले सामग्री खरिद गरी सेवा शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने वचन दिएका छन् । मेसु प्रा.डा. पौडेलले भन्नुभयो “हामीले सेवा शुरु गरेपछि विभिन्न दाताले सहयोग गर्ने वचन दिनुभएको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै जान्छौं ।” यस अस्पतालमा एनआईसियू र पिआईसियु सेवा समेत रहेको छ ।
पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई आधुनिक र परिस्कृत गर्दै लगेको छ । केही दिन अघि मात्रै योगा कक्ष समेत अस्पतालले शुरु गरेको छ ।