बझाङ, ४ साउन २०८१
बझाङ जिल्ला अस्पतालमा पाठेघरको नली फुटेर विरामी भएकी महिलाको जिल्ला मै शल्यक्रिया गरिएको छ ।
अत्याधिक रक्तश्राव भएपछि बिहीबार जिल्ला अस्पताल बझाङ ल्याइएकी ४० वर्षिया महिलाको साँझ नै शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । स्त्री रोग विशेषज्ञ नियमित नहुँदा विगतमा यस्ता जटिल समस्याको उपचारका लागि अन्यत्र रिफर गर्नुपर्थ्यो ।
पाठेरघमा बस्नु पर्ने बच्चा ठिक ठाउँमा नबसेर पाठेघरको नली (फेलोपिएन ट्युव) मा बसेको कारण जटिल अवस्थामा पुगेकी ४० वर्षिया सौरा देवी खड्काको शल्यक्रिया मार्फत उपचार गरिएको हो । उनि खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीकी स्थानीय हुन ।
उनको शल्यक्रिया स्त्रीरोग विषेशज्ञ डा. नवराज जोशी र डा. सिद्धराज रोकायाको टोलीले गरेको जिल्ला अस्पतालका डा. पदम जोशीले बताए । ‘अस्पताल ल्याइ पुर्याउँदा धेरै रक्तश्रावका कारण उनको शरिरमा हेमोग्लोविनको मात्रा धेरै कम भैसकेको थियो,’ डा. जोशीले भने, ‘तत्काल अपरेसन गर्न नसकेको भए जोखिम हुन सक्थ्यो ।’
डा. जोशीले स्त्री रोग विषेशज्ञ चिकित्सक जिल्लामा नभएको भए उनलाई रिफर गर्नुपर्ने र ज्यान जाने जोखिम हुन सक्ने बताए । गत वर्ष यस्तै समस्या भएकी एक महिलालाई जिल्ला अस्पतालमा स्त्रीरोग विषेशज्ञ नहुादा रिफर गर्नु परेको उनले सुनाए ।
अस्पतालमा विषेशज्ञ चिकित्सक भएको बेला गत वर्ष यस्तै प्रकृतिका पाँच जना महिलाको शल्यक्रीया जिल्ला मै गरिएको थियो । चिकित्सक नभएको बेला यस्ता विरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ । झण्डै १० घण्टा समय लाग्ने सडक मार्गबाट विरामीलाई धनगढी पठाउँदै गरेको थियो।