काठमाडौं, १ साउन २०८१
सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हालै साढे दुई महिनाकि बालिकाको महाधमनी हस्तान्तरण शल्यक्रिया (Arterial switch surgery) सफल भएको छ।
महाधमनी हस्तान्तरण शल्यक्रिया सफल भई घर जानेको उक्त बालिका २० औं रहेको बाल मुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र भक्त तिमलाले जानकारी दिनुभयो।
मुटुबाट निस्कने दुई मुल रगतका नलीहरु ( Pulmonary Artery र Aorta) बिपरित कोष्ठबाट निस्केको महाधमनी हस्तान्तरण गरिन्छ। यसमा धमनीहरु काटी अर्को सङ्ग जोडिन्छ। यसको साथै मुटुबाट निस्कने मुटुको आफ्नै रक्तनली पनि काटी अर्कै धमनी सङ्ग जोडिन्छ। यसको अलवा मुटुभित्र रहेको प्वालहरु पनि टाल्नु पर्दछ।
ब्राजिलका शल्यचिकित्सक जटीनी द्वार विश्वमा पहिलोपटक सन् १९७५ मा यो शल्यक्रिया गरिएको थियो। नेपालको सन्दर्भमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा. रविन्द्र भक्त तिमलाको नेतृत्वमा वि.स. २०६८ सालमा पहिलोपटक सफल माहाधमनी स्थानान्तरण शल्यक्रिया गरिएको थियो।
डा. तिमलाका अनुसार महाधमनी स्थानान्तरण शल्यक्रियाबाट ९ दिने बालक देखि ७ वर्षिय बालिका सम्म गरी हालसम्म २० जना बालबालिकाको स्वास्थ्य लाभ गरी घर फर्किसकेका छ्न।
प्रायः जसो जन्मेको ७ दिन देखि एक दुई महिना भित्र गरिने उक्त शल्यक्रिया रोग पहिचानको अभावले समयमा अस्पताल नआउने र ढिलोगरी आउँदा मुटु र फोक्सोमा समस्या भइ उचित उपचारबाट वन्चित हुनुपर्ने अवस्था रहेको छ।
शल्यक्रिया र शल्यक्रिया पछिको हेरचाह समेत जटिल हुने भएकोले महाधमनी स्थानान्तरण प्रक्रियालाई बाल मुटुरोग शल्यचिकित्सा सेवाको गुणस्तर मापनको कसी पनि मानिन्छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा महाधमनी स्थानान्तरण शल्यक्रियामा शुरु देखिनै नियमित रुपमा नेपाली चिकित्सक टोलीको संलग्नता रहेको छ।