काठमाडौं, २६ फागुन २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ ।
शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले यस्तो बताएका हुन् । डा. दासले जनशक्ति र पूर्वाधारको अभावमा यी निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो आइरहेका बेलासुधारका प्रक्रियाहरू अगाडि बढिसकेको जानकारी दिए ।
डा. दासकाअनुसार हाल राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वर्षमा जम्मा ५ देखि ६ सय वटा औषधिको मात्र परीक्षण गर्नसक्ने रहेको छ । जबकि आवश्यकता ९ देखि १२ हजारसम्मको छ । यी दुवै निकायको सुदृढीकरणका लागि जनशक्ति थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढिसकेको डा. दासले जानकारी दिए । जनशक्तिका साथसाथै नयाँ प्रविधि र पूर्वाधार विकासको काम पनि द्रुत गतिमा अगाडि बढिरहेको उनले बताए ।
उनले भने, ‘क्षमता नभएको कुरा साँचो हो । तर अब मन्त्रालयले यसलाई प्राथमिकतामा राखेको छ । माननीय स्वास्थ्य मन्त्रीज्युको प्रमुख प्राथमिकतामै विभाग र प्रयोगशालाको सुधार रहेको छ । नियमन गर्नुपर्ने ठाउँ धेरै छन् तर क्षमता र जनशक्ति कम छ । यसलाई सम्बोधन गर्न मन्त्रालय लागिपरेको छ । पूर्वाधार र जनशक्ति दुवै थपिएपछि बजारमा औषधिको गुणस्तर मापन र नियमन थप प्रभावकारी हुनेछ ।’





