
काठमाडौं, २९ मंसिर २०८२
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (SIMON) को १६औँ अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा राजधानीमा आयोजित मेडिकल क्विज प्रतियोगितामा काठमाडौं मेडिकल कलेज (केएमसी) प्रथम भएको छ।
देशभरका निजी तथा सरकारी मेडिकल कलेजका विद्यार्थीहरूबीच आयोजित हाजिरी जवाफ प्रतियोगितामा केएमसीका मेडिसिन विभागका विद्यार्थीहरू डा. परमेश्वर शाह र डा. गौरव खड्का सहभागी थिए। अन्य सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै शाह र खड्काले प्रथम स्थान हासिल गरी ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जित्न सफल भए।
प्रतियोगितामा त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज दोस्रो, पाटन अस्पताल तेस्रो तथा धुलिखेल अस्पताल चौथो स्थानमा रहेका थिए। उक्त मेडिकल क्विज प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।




