
काठमाडौं, २९ मंसिर २०८२
नेपाल चिकित्सक संघलाई ‘युरोप नेपाल हेल्थ अवार्ड २०२५’ प्रदान गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा युरोपमा रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले चिकित्सक संघलाई उक्त अवार्ड प्रदान गरेको हो।
यो अवार्डको उद्घाटन संस्करणको विजेताका रूपमा नेपाल चिकित्सक संघ पहिलोपटक संस्थाका रूपमा सम्मानित भएको हो। सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ता सुनिश्चित गर्न संघले गरेको संघर्ष तथा योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको समाजले जनाएको छ।
सोसाइटी अफ नेपलिज हेल्थ केयर एसोसिएसनले अवार्ड स्वरूप संघलाई नगद एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरेको हो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले यस किसिमको सम्मानले थप जिम्मेवारी र काम गर्ने हौसला मिल्ने बताए। अवार्ड पाउनु खुशी र गर्वको विषय भएको उल्लेख गर्दै डा. कार्कीले संघ सधैं आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार रहँदै आएको बताए।
नेपाल चिकित्सक संघले बर्ष २०२५ मा आवासीय चिकित्सकहरूको हकअधिकार तथा पेशागत सुरक्षाका लागि पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप ताम्रपत्रसहित नगद नेपाली एक लाख एक रुपैयाँ पुरस्कार राशीसहित संघलाई सम्मान गरिएको संस्थाका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय कुमार श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनी कुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रमोद जोशी, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुसाल, डा. रमेश कान्त अधिकारी, डा. बुद्धिमान श्रेष्ठ, डा. अनिल भट्टराईलगायतको उपस्थिति रहेको थियो।
संस्थाका खोजअनुसन्धान तथा विज्ञान विभागका निर्देशक डा. कौशल किशोर तिवारीले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै यस्ता अवार्ड कार्यक्रमलाई प्रत्येक वर्ष थप परिस्कृत र व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो।
सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपालका स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको छ।




