काठमाडौ चैत ,२०
नेपाल सरकारले ओम्नी ग्रुपसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याउने सामानको खरिद सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्द गरिएको जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कम्पनीले १० प्रतिशत मात्रै सामान ल्याएकोले सम्झौता रद्द गरेको बताए। सम्झौता रद्दसँगै कम्पनीको पाँच करोड धरौटी जफत गर्ने बताए।
महानिर्देशक श्रेष्ठका अनुसार सो समूहले कबुल गरे अनुसारको परिमाणमा समान उपलब्ध गराउन नसकेकाले सम्झौता रद्द गरी भोलिबाट अर्को प्रक्रिया शुरु गरिने र सो समूहको धरौटी जफत गरी कालो सूचीमा राख्ने प्रक्रिया थालनी गरिने बताउनुभयो ।
तीन दिनको समय दिएर बिहीबार प्रस्ताव आह्वान गर्ने निर्णय भएको भन्दै महानिर्देशक श्रेष्ठले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरे ।
नेपाल सरकारले चैत ११ गते २४ घन्टे सूचनाकै भरमा १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण किन्ने सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् २३ लाख ९४ हजार डलर बराबरको सामान समेत ल्याइसकिएको थियो ।
ओम्नीसँग उच्च मूल्यमा सामान किन्न लागेकोमा आलोचना गर्नेहरुलाई स्वास्थ्य मन्त्रालयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले मूल्य केही बढी परेको दावी गर्दै जवाफ दिएको थियो ।