काठमाडौं, ०१ साउन २०७९
साउन १ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरङ्ग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरङ्ग सेवा र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शैय्या) मा शुल्क नलिने घोषणा गरेको थियो ।
सोही घोषणा साउन १ गतेदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तैगरी साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालहरुमा सेवा लिने बिरामीहरूका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकारले रगत निःशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।