डा.रवीन्द्र पाण्डे , जनस्वास्थ्य बिज्ञ
पर्सा ( बिरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ ।हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ ।ट्राभल हिस्ट्री नभएका, संक्रमितसंग सम्पर्क नभएका तथा घरमै बसेका व्यक्तिमा पनि संक्रमण पाइएको छ ।
यो महामारीलाई समयमै नियन्त्रण नगर्ने हो भने ठूलो क्षति हुनसक्छ । बारा, सप्तरी, मोरंग, कपिलबस्तु, दैलेख लगायत बिभिन्न ठाउँमा क्लस्टर अफ केसेसबाट सामुदायिक संक्रमण हुँदैछ ।
यसको लागि निम्न लिखित पहल तुरुन्तै गर्नु जरुरी छ ।
१. सामुदायिक संक्रमण देखिएका र उन्मुख ठाउँमा कर्फ्यु लगाउने । सरकारले जनतालाई खाना, पानी, औषधि आदिको ब्यबस्था एबम परीक्षणको लागि स्वाव संकलन घरघरमा गएर गर्ने ।
२. सिमाना १०० % शिल गर्ने ।
३. काठमाडौं लगायत बिभिन्न ठाउँबाट सयौं स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने ।
४. सुरक्षा निकायलाई बाक्लो संख्यामा परिचालन गर्ने ।
५. स्कुल, क्याम्पस, होटेल, पार्टी प्यालेस, सामुदायिक भवन तथा सरकारी भवनमा सुरक्षित तथा ब्यबस्थित आइसोलेसन वार्ड बनाउने ।
६. गम्भीर बिरामीलाई अस्पताल तथा मेडिकल कलेजमा भर्ना गर्ने । आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड आदिको तुरुन्तै प्रबन्ध गर्ने ।
७. एक घर ; एक पिसिआर होइन, प्रत्येक व्यक्तिको पिसिआर परीक्षण गर्ने । संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिंग तुरुन्त गर्ने ।
८. संक्रमण नियन्त्रणमा नआएसम्म १ जना व्यक्तिलाई पनि घर बाहिर निस्किन नदिने । प्रकोप फैलिएको समयमा भाइरस सर्ने सम्भावना सामान्य अवस्थामा पनि धेरै हुन्छ ।
९. आम नागरिक धैर्य, संयमित तथा आशाबादी भएर बस्ने । यो कडाइ हाम्रै लागि भएको हो भनेर सोंच्ने ।
१०. कारणबस घरबाहिर निस्किनु पर्ने परिस्थिति भएमा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, न्युनतम ६ फिटको दुरी हरेक व्यक्तिसंग पालना गर्ने, भीडभाडमा नजाने, घरलाई चाहिने सामान एकैपटक किन्ने ।
११. हामी जति बाहिर जान्छौं, त्यति नै संक्रमित हुने जोखिम हुन्छ । तसर्थ जीवनरक्षाको लागि केहि कष्ट सहेर भएपनि घरभित्र बस्ने ।
१२. स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सामुदायिक तथा निजि संस्था संबैले उदार भएर राहत, परीक्षण र उपचारमा लाग्ने ।
१३. हरेक नागरिकलाई एम्बुलेन्स र अस्पतालको फोन नम्बर दिएर गाह्रो पर्यो भने तुरुन्त अस्पताल पुर्याउने व्यवस्था गर्ने ।
१४. जेष्ठ नागरिक र दीर्घबिरामीलाई सकभर घरभित्र पनि आइसोलेसनमा राख्ने अर्थात छुट्टै कोठामा राख्ने ।
१५. कोरोना संक्रमणबाट बच्ने उपायका पम्प्लेट, मास्क, साबुन, ह्याण्ड स्यानिटाइजर, थर्मोमिटर, सिटामोल, जीवनजल आदि घरघरमा वितरण गर्ने ।