✍️ डा. रमेश घिमिरे
मुख्य रुपमा आमाको पेटमा रहेको बच्चा पाँच महिनाको भएपछि एनोमली स्क्यान (Anomaly Scan) गरिन्छ ।
बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ भनेर भिडियो एक्सरे मार्फत् जाँच्ने प्रविधिलाई एनोमली स्क्यान (Anomaly Scan) भनिन्छ ।
आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था जाँच गरिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अङ्गको अवस्था जाँच गरिन्छ ।
एनोमली स्क्यान (Anomaly Scan) कहिले र किन गर्नुपर्छ?
एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अङ्ग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अङ्गहरुको बृद्धि विकास मात्रै हुने हो । पाँच महिनापछाडि किन नगर्ने त भन्दा बच्चा आमाको पेटमा ठूलो भइसकेको हुन्छ । जसले गर्दा बच्चा चल्ने फर्कने कुराहरु एकदमै कम हुन्छ, त्यसले गर्दा निश्चित पोजिसनमा बस्ने भएकाले सबै अङ्ग हेर्न सकिंदैन । त्यसैले एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नु अति उत्तम हुन्छ ।
एनोमली स्क्यानमा बच्चाको खुट्टादेखि टाउकोसम्मका सम्पूर्ण अङगहरुको अवस्था हेर्न मिल्ने हुँदा टाउकोमा पानी जमेको, कसैको टाउको नै नहुने, कसैको ब्रेन नै नहुने, नाक नै नभएको, आँखा नभएको, ओठ काटिएको, तालु फाटेको जस्ता समस्या देखिने गरेका छन् ।
यसैगरी फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, मुटुको नसाहरु दायाबाया भएको, पेटबाट आन्द्रा बाहिर निस्केको, कलेजोमा समस्या, पिसाब थैलीमा समस्या, यौनअङ्गमा समस्या देखिने गरेका छन् । कुनै-कुनै बच्चाको हात नभएको र कसैको खुट्टा बाङ्गो भएको पनि भिडियो एक्सरे गर्ने क्रममा भेटिने गरेका छन् ।
बच्चाले सधैं मुठ्ठी पारेर राख्ने हुनाले एनोमली स्क्यानमा औंलाहरुको अवस्था देखिन्छ भन्ने चाहिं हुँदैन । यस्ता विविध समस्याहरु हामीले पहिचान गरिसकेपछि रिपोर्ट गाइनोक्लोजिष्टले हेर्नुहुन्छ र गर्भको बच्चालाई निरन्तरता दिने नदिने निर्कोल गर्नुहुन्छ । यसलाई उपचार गरेर सुधार गर्न सकिनेछ भने निरन्तरता दिन सकिन्छ । भोलि आमा बच्चा दुवै जनालाई हुन सक्ने समस्यलाई पहिल्यैपहिचान गर्न पनि एनोमली स्क्यान उत्तीकै महत्वपूर्ण छ ।
आर्थिक हिसाबले यो धेरै महँगो जाँच होइन । पछिल्लो समयमा जनचेतनाको विकास र सामाजिक सञ्जालबाट सही जानकारी लिएर पनि धेरै आमाहरू एनालोमी स्क्यान गर्नुपर्छ भनेर हामी कहाँ आइरहनुभएको छ।
[वरिष्ठ रेडियोलोजीष्ट डा. घिमिरे मौलाकालिका अस्पताल चितवनमा कार्यरत हुनुहुन्छ ।]