काठमाडौं, १६ जेठ २०८२
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान जाने हुन्छ । यो संख्या नेपालमा वर्षभरीमा हुने कुल मृत्युको करिब १८ प्रतिशत हो ।
स्टेप्स सर्भे २०१९ का अनुसार नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत नागरिक सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेका छन् । त्यसमा पुरुषको प्रतिशत मात्रै र्हेने हो भने ४८.३ र महिलाको प्रतिशत हेर्ने हो भने ११.६ रहेको छ ।
नेपाल धुवारहितको सुर्तीजन्य पदार्थको प्रयोग बढी हुने देशको सूचीमा पनि अगाडी छ । विश्वव्यापी रुपमा धुवारहित सुर्तीजन्य पदार्थको प्रयोग ४ प्रतिशत छ तर नेपालमा भने यसका प्रयोगकर्ता १८ प्रतिशत रहेको छ ।सुर्तीजन्य पदार्थको प्रयोगदर नियन्त्रणमा नआउँदा नसर्ने रोगको जोखिम बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । बढ्दो जोखिमसंगै मृत्युदरको रेखा पनि उकालो चडेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।
त्यसो त विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र त्यसबाट भईरहेको उच्च दरको मृत्युलाई रोक्न सकिने मृत्युको रुपमा परिभाषित गरेको छ । सुर्तीजन्य पदार्थको सेवनको उपभोग घटाउँदै जाँदा मृत्युको डरलाग्दो तथ्यांक क्रमश घट्दै जाने सुर्तीजन्य पदार्थबिरुद्धको अभियानमा क्रियाशिल संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् ।
सुर्तीजन्य पदार्थको उपभोग कम हुँदा मृत्युको डरलाग्दो तथ्यांक घटाउन सकिन्छ । तर नेपालमा अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताए।
सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण स्वास्थ्य समस्या बढ्दै गएको र सोही दरमा मृत्युदर पनि बढिरहेको छ तर यसमा करको दर बढाउँदा मूल्य महँगो हुन्छ र थोरै व्यक्तिले मात्र सेवन गर्न सक्छन् जसले स्वास्थ्य समस्या र मृत्युदर घटाउन मदत पुग्छ । त्यसैले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर वृद्धि आवश्यक छ ।
नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३४/३५ प्रतिशत मात्रै छ । नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लिँदै आएको कर दक्षिण एसियामै सबैभन्दा न्यून हो । भारतमा सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर छ । यस्तै, सुर्तीजन्य पदार्थमा पाकिस्तानले ६१ प्रतिशत, बंगलादेशले ७३ प्रतिशत कर छ भने श्रीलंकाले ७७ प्रतिशत लाग्दै आइरहेको छ । तर विश्व स्वास्थ्य संगठनले भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्याउँन सुझाव दिदै आएको छ ।
डा. केसीले नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून उत्कृष्ठ बनाए पनि कार्यान्वयनमा समस्या भएको समेत जोडे । ‘नेपालको कानुन राम्रो छ। तर कार्यान्वयनमा समस्या छ। कार्यान्वयन राम्रो संग हुने हो भने सूर्तीेजन्य पदार्थ नेपालमा प्रतिवन्ध सरह नै हुन्छ’।
सुर्तीजन्य पदार्थ नियन्त्रणका बनेका ६ रणनीतिमा रहेर कामहरु भईरहेको छन् । डा. केसीले भने । त्यसो त मन्त्रालयले यसपटक सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत नै पुर्याउने अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको छ । स्वास्थ्यको सुझावलाई अर्थले कत्तिको कार्यान्वय गर्छ त्यो भने दुई साता पछि आउने बजेट कार्यक्रमबाटै थाहा हुनेछ ।
नसर्ने रोगको प्रकोप विश्वव्यापी रुपमा बढ्दो छ । त्यसबाट नेपाल अछुतो रहने कुरै भएन । नेपालमा पनि यसको प्रकोप दिनानुदिन बढ्दो छ । त्यसको प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थ रहेको विज्ञहरु बताउँछन् ।
बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइराला भन्छन्, नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ। यसबाहेक, सुर्तीजन्य पदार्थको प्रयोगले निम्त्याउने रोगको उपचारमा लाग्ने ठूलो वित्तीय तथा आर्थिक भारका साथै, यसबाट हुने मृत्यु र अपाङ्गताका कारण मानव पूँजीमा पर्न जाने क्षति पनि उत्तिकै छ।
डा. कोइरालाले नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण जरुरी रहेको बताए । उनले त्यसका लागि सुर्तीजन्य पदार्थमा करको दर बढाउन पर्ने सुझाव दिए । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर ज्यादै न्युन छ, सस्तो हुँदा सबैको पहुँच छ । चुरोट सेवनबाट लाग्ने मुटु रोग त गरिब व्यक्तिका लागि रैछ । त्यसैले चुरोट एवं सुर्ती सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपबाटै बहिष्कार गरौं । डा. कोइरालाले भने ।
अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा सुर्तीजन्य पदार्थको करमा न्यून वृद्धि हुँदा यसको प्रयोग झन् बढ्दै गएको छ । पछिल्लो १० वर्षयता सुर्तीजन्य पदार्थमा बढेको सबैभन्दा न्यून कर वृद्धि भएको छ । सुर्तीजन्य पदार्थमा मूल्य १० प्रतिशतले बढ्दा खपत सरदर ६ प्रतिशतले घट्ने अध्ययनमा उल्लेख छ। सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा सरकार त्यस प्रति गम्भिर हुन जरुरी रहेको छ ।