भुवनेश्वरी जोशी ,
महेन्द्रनगर , ३० मङ्सिर २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले प्रयोगशालाकर्मीहरुको लागि खानेपानीको गुणस्तरीयता जाँच सम्बन्धि दुइ दिने तालिम सम्पन्न गरेको छ ।
२०७७ मङ्सिर २९ र ३० गते स्वास्थ्य कार्यालय कंचनपुरको तालिम हलमा सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रयोगशालामा काम गर्ने प्राबिधिक हरुको लागि खानेपानीको गुणस्तरीयता जांच सम्बन्धि तालिम प्रदान गरेको छ ।
पानी जीवनको मूल आधार हो । मानिसलाई आवश्यक पर्ने प्रमुख बस्तु मध्ये पहिलो हावा हो भने दोश्रोमा खानेपानीको स्थान आउँछ । मानिसलाई आवश्यक पर्ने हावा र पानीको गुणस्तर उच्च रहनु पर्दछ । मानव जीवनको लागि पानीको उपलब्धता , पर्याप्तता , सुरक्षित र सुलभ हुन् जरुरि छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले २६ जुलाई सन् २०१० मा मानवीय स्वास्थ्य रक्षाका लागि सुरक्षित र स्वच्छ खानेपानीलाई मानव अधिकारको रुपमा घोषणा गरेको छ ।
नेपालमा केहि दशक यता खानेपानीको पहुँचमा उल्लेख्य सुधार भएको छ । हालको अवस्था सम्म आइपुग्दा ८० प्रतिशत बढी मानिसहरु खानेपानी पहुचमा पुगेका छन् । बिगतको तुलनामा पानीजन्य रोगहरुको कमि आए पनि खानेपानी प्रदुषण भएका कारणले केहि समुदायमा अहिले पनि पानीजन्य रोगको समस्या नै रहेको छ । खासगरी जैविक कारणले झाडापखाला , हैजा , आँउ मासी , रगत मासी , टाइफाइड , भाईरल हेपाटाईटिस ए आदि रोगको संक्रमण देखा पर्ने गरेको र रासायनिक कारणले आर्सेनिक लगायतको अन्य समस्या पर्ने गरेको हुनाले त्यस्तो गुणस्तरहीन पानीको अवस्था समयमै पत्ता लगाई आम मानिसको स्वास्थ्य रक्षा एबम सुधारका लागि प्रयोगशालाकर्मी हरुको लागि पानीको गुणस्तर जाँच सम्बन्धि तालिम आयोजना गरिएको कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।
तालिम कार्यक्रममा सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख श्री रमेश शाही , सेती प्रादेशिक अस्पतालकै माइक्रोबायोलोजिस्ट डा. योगेन्द्र शाह , डडेल्धुरा अस्पतालका ल्याब टेक्नेसियन निरीक्षक श्री इश्वरी प्रसाद भुसाल , स्वास्थ्य कार्यालय कंचनपुरका ल्याब टेक्नेसियन निरीक्षक श्री नरेन्द्र रावल , प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नेसियन श्री महेश भट्ट , प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ल्याब टेक्नेसियन श्री हर्क बहादुर कुँवर , स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल निरीक्षक श्री हेम राज जोशीले सहजीकरण गर्नु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका बरिष्ठ ल्याब असिस्टेन्ट श्री झरेन्द्र सिंहले बताउनु भएको छ ।