धनगढी चैत २७
कोभिड १९ को निकै जोखिम मानिएको सुदुरपश्चिम प्रदेशमा केन्द्रिय भेटेरिनरी प्रयोगशालाबाट आर टि पिसिआर उपकरण लगी धनगढीमा अवस्थित भेटेरिनरी प्रयोगशालामा कोभिड १९ को लागि परिक्षणको तयारी भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भेटेरिनरी प्रयोगशालाको संयुक्त अवलोकन तथा निरिक्षण पश्चात परिक्षण गर्ने टुङ्गो लागेको बताइएको छ ।
सुदुरपश्चिम भरीमा भेटेरिनरी प्रयोगशालामात्र अन्तराष्ट्रिय मापदण्ड अनुसार बिएसएल २ को भएकाले कोभिड १९ को परिक्षण सम्भव भएको भेटेरिनरी प्रयोगशाला प्रमुख डा.तपेन्द्र प्रसाद बोहराले जानकारी दिएका छन् ।
भेटेरिनरी प्रयोगशालामा कोभिड १९ परिक्षण कार्य गर्न बुधवार पशु सेवा विभागका डा. नरेस प्रसाद जोशीले नेपाली सेनाको हवाइजहाजबाट केन्द्रिय भेटेरिनरी प्रयोगशालाको आरटि पिसिआर उपकरण धनगढी ल्याइ पुगेकाछन् ।
डा. जोशीका अनुसार यस उपकरणबाट एक पटकमा ९२ नमुना परिक्षण गर्न सकिने र सोका लागि झण्डै ४ घण्टा समय लाग्ने बताउछन । जनशक्तिको व्यवस्थापन गर्न सके दैनिक दुई तिन पटक आरटि पिसिआरबाट झण्डै २५० नमुना परिक्षण गर्न सकिने बताउछन् ।
यस अघि नै चितवनको भरतपुरमा समेत भेटेरिनरी प्रयोगशाला सञ्चालनमा आई सकेको छ । पशु सेवा विभाग अन्तर्गत मुलुकभर ७-८ आधुनिक प्रयोगशाला रहेको नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा शितलकाजी श्रेष्ठ बताउछन् । विश्व भरी नै कोभिड १९ नियन्त्रण बाहिर गएकाले नेपालले समयमै पर्याप्त नमूना परिक्षणका लागि भेटेरिनरी प्रयोगशाला पूर्वाधार, उपकरण र जनशक्ति समेत प्रयोग गर्नु पर्ने डा श्रेष्ठको भनाई रहेको छ ।
चाँडै नै नेपाल सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण तथा परिक्षणका लागि पशु सेवा विभाग अन्तर्गतका प्रयोगशाला, उपकरण र जनशक्ति समेत आवश्यकता अनुसार सम्बन्धित निकायले समन्वय गरी परिचालन हुने कुरामा विश्वास्त रहेको बताउछन ।