महेन्द्रनगर , ११ पौष २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक विकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा २१ दिने ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धिको तालिम आज सम्पन्न भएको छ ।
२१ मङ्सिर २०७७ देखि चलेको उक्त तालिम ११ पौष २०७७ सम्म २१ दिने नर्सिंग कर्मचारीहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धिको तालिम महाकाली अस्पताल महेन्द्रनगरमा आज सम्पन्न भए संगै सुदूरपश्चिम. प्रदेशका सबै स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड सेवाको पहुँच पुगेको छ ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको मेगा प्रोजेक्टको रुपमा पहिचान भएको ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धिको कार्यक्रम आर्थिक वर्ष २०७६/२०७७ मा प्रदेश सरकारलाई प्राप्त भएको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको रकम बाट हरेक पालिकालाई एक- एक थान अल्ट्रासाउन्ड मेशिन प्रदान गर्ने र त्यहिँ पालिकामा कार्यरत नर्सिंग कर्मचारीहरुको क्षमता अभिबृद्धि गरि गर्भवती महिलाहरुको गर्भ जाँच गर्ने , जोखिममा रहेको गर्भ पहिचान गर्ने , जोखिम युक्त गर्भवती महिलाहरुको र गर्भमा भएको शिशुको ज्यान जोगाउन समयमै उपयुक्त स्थानमा प्रेषण गर्ने र आमा र शिशुको ज्यान जोगाउन सकिने गरि कार्यक्रमको अवधारणा ल्याएको र सो अवधारणा तथा सपना सबै स्थानीय तहमा अल्ट्रासाउन्ड मेशिन र तालिम प्राप्त नर्सिंग कर्मचारी पुगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

नेपालमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमका जन्मदाता सोलुखुम्बु टेक्निकल इन्सीटिच्युट सोलुखुम्बुका अध्यक्ष तथा स्वास्थ्य सेवा बिभागका भुत पुर्व महानिर्देशक डा. मिंगमार ग्याल्जेन शेर्पाको मार्गदर्शनमा सुदूरपश्चिमका सबै स्थानीय तहमा नर्सिंग कर्मचारीहरुलाई प्रशिक्षण दिन सम्भव भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका उक्त कार्यक्रम फोकल व्यक्ति जनस्वास्थ्य निरीक्षक श्री सिद्धराज भट्टले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेशका सबै ८८ वटा स्थानीय तहमा तालिम प्राप्त नर्सिंग कर्मचारीहरुलाई २०७७ चैत्र महिना बोलाएर कार्यक्रमको समिक्षा गरिने , अल्ट्रासाउन्ड मेशिनको अवस्था जाँच गरिने र पुनर्ताजगी तालिम समेत प्रदान गर्ने गरि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटी अगाडी बढिरहेको स्वास्थ्य निर्देशक डा. अवस्थीले बताउनु भएको छ । साथै उहाँले ८८ वटा स्थानीय तहमा कार्यरत ९० जना नर्सिंग कर्मचारीलाई तालिम प्रदान गरिसकेको हुनाले सबै पालिकाहरुले सेवा सुचारु गर्ने , केहि प्राविधिक सहजिकरणको आवश्यकता परेको भए सो समेत उपलब्ध गराई समस्या समाधान गरिने समेत बताउनु भएको छ ।
महाकाली अस्पताल. कन्चनपुरको तालिम कक्षमा सम्पन्न भएको तालिम समापान समारोह महाकाली अस्पताल विकास समितिका अध्यक्ष श्री कृष्ण दत्त जोशी बक्सरको अध्यक्षतामा सम्पन्न भएको थियो । समापान समारोहमा भेरी अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बिरेन्द्र बहादुर चन्द , निसर्ग अस्पताल धनगढीका रेडियोलोजिस्ट डा. अनुज श्रेष्ठ , महाकाली अस्पतालका मेसु डा. हरि कुमार श्रेष्ठ, स्वास्थ्य सेवा बिभागका भूतपूर्व माहानिर्देशक डा. मिंगमार ग्याल्जेन शेर्पा , सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीका नीति, कानून , मापदण्ड , योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की समेतको उपस्थिति रहेको थियो ।





