त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा आएको छ।
अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत रहेको उक्त वार्डको अस्पतालका निर्देशक डा. सुवास आचार्यले औपचारिक उद्घाटन गरेका हुन्।
वार्डमा मधुमेह, उच्च रक्तचाप, सिओपीडी, दम, ज्वरो, संक्रमण, थाइराइड, दीर्घरोगका बिरामी, बहुरोग भएका ज्येष्ठ नागरिक तथा नियमित निगरानी आवश्यक पर्ने बिरामीलाई भर्ना गरेर उपचार गरिने निर्देशक डा. आचार्यले बताएको छ। ओपीडी वा इमर्जेन्सीमा आएका बिरामीलाई आवश्यकताअनुसार यस वार्डमा भर्ना गरी उपचार सेवा प्रदान गरिनेछ।
मेडिसिन वार्डका इन्चार्ज डा. संजिव तिवारीले बिरामीको अवस्थाअनुसार जनरल प्राक्टिस विभागका चिकित्सकले उपचार गर्नेछन् भने आवश्यक परे बहुविशेषज्ञ (मल्टिडिसिप्लिनरी) सेवा समेत उपलब्ध गराइने बताउनु भयो।
डा. तिवारीका अनुसार यसअघि यस्ता बिरामीलाई मेडिसिन वार्डमा भर्ना गरेर उपचार गरिने गरिएको थियो र नेपालमै सम्भवतः यो पहिलो ‘फेमिली मेडिसिन वार्ड’ हो।
डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत विभागीय प्रमुख डा. यज्ञलक्ष्मी शाक्य, डा. योगेन्द्रमान शाक्य, डा. संजिव तिवारी, डा. तीर्थमान श्रेष्ठ, डा. संजयकुमार गुप्ता र डा. राजु चापागाईं लगायतको टोलीले उपचार सेवा प्रदान गरिरहेको छ।






