ललितपुर, ७ असोज २०८०
सानेपास्थित स्टार अस्पतालले सर्वसाधारणका ४० लाख कित्ता सेयर (आईपीओ) जारी गर्ने भएको छ।
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनकालागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो।
बिहीबार आयोजित कार्यक्रममा सेयर बिक्री प्रबन्धकमा रुपमा मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरिएको हो। सम्झौतापत्रमा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
स्टार हस्पिटलले रु. ४० करोड सेयर पूँजी बराबरको रु. १०० अंकित दरको ४० लाख कित्ता सेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो। करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार सेयर सहित रु. ८५ करोड चुक्ता पूँजी रहने अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कंपनीहरु तथा नीजि संस्थागत लगानीकर्ता समेतको गरी चुक्ता पूँजी रु. २ अर्ब भन्दा माथि हुने जानकारी गराइएको छ।
अस्पतालले थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभिएफ सेवा र नेपालका विभिन्न स्थानहरुमा उपचार सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ। यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैंक संग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पताल संग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ।