धनगढी, ०१ श्रावण २०७८
सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रलायले माननीय मन्त्री श्री लाल बहादुर खड्काको अगुवाइमा आर्थिक बर्ष २०७८/०७९ को शुरुवात भएकै दिन कोरोना रोगको तेश्रो लहरको तयारी सम्बन्धि सरोकारवाला निकाय संग बैठक सम्पन्न गरेको छ ।
सामाजिक विकास मन्त्रालय धनगढी कैलालीले आयोजना गरेको बैठकमा सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्का, सामाजिक विकास राज्य मन्त्री श्री मना कुमारी साउँद, धनगढी उप महानगर पालिकाका मेयर श्री नृप बहादुर ओड, गोदावारी नगरपालिकाका मेयर श्री हरि साउद, भीमदत्त नगरपालिकाका मेयर श्री सुरेन्द्र बिष्ट, तथा पुनर्वास नगरपालिकाका मेयर श्री जीवन राज थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव सहित कैलाली र कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो ।
सुरक्षा निकायका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक, नेपाली सेनाका अधिकारी, सशस्त्र प्रहरीका बाहिनी प्रमुख सहित कैलाली र कंचनपुरका नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख सहितको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित पदाधिकारीहरुले कोरोना रोगको पहिलो लहर र दोश्रो लहरमा सुदूरपश्चिम प्रदेशमा गरिएको तयारी, सम्पादन गरिका क्रियाकलाप, सामना गर्नु परेका समस्या र चुनौती तथा समाधानका लागि गरिएका प्रयास हरुको समिक्षा गरिएको थियो ।
विश्व स्वास्थ्य संगठन लगायत जनस्वास्थ्य बिज्ञहरुले अब तेश्रो लहर आउने र उक्त तेश्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुने भनि आकलन गरिरहेका हुनाले सो को तयारीका लागि मन्त्रालयले सरोकार वाला निकाय जस्तै स्थानीय तहका प्रमुख, प्रशासन प्रमुख, सुरक्षा निकाय प्रमुख सहितको उपस्थितिमा बैठक गर्नु परेको र यस बैठकले भबिष्यमा कोरोना रोग नियन्त्रणका लागि एकीकृत प्रयास गर्न सफल हुने र प्रभावकारी नियन्त्रण गर्न सकिने मुख्य उद्देश्य सहित बैठक आयोजना गरिएको कुरा माननीय मन्त्री श्री लाल बहादुर खड्काज्युले बताउनु भएको छ ।
साथै सामाजिक विकास मन्त्रालय धनगढी कैलालीले कोरोना रोग नियन्त्रणका लागि अल्पकालीन तथा दीर्घकालीन कार्य योजना बनाइरहेको हुनाले उक्त योजनामा आजको बैठकमा प्रस्तुत गरिएका सुझाव सहित समेटिने कुरा समेत निर्णय भएको छ ।