काठमाडौँ, २१ कात्तिक २०७९
वीर अस्पतालले आइतबार देखि एलर्जीको कारण पत्ता लगाउने स्कीन प्रिक टेष्ट सेवाको शुरुवात गरेको छ ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले स्कीन प्रिक टेष्ट सेवाको उद्घाटन गर्दै शुभारम्भ भएको घोषणा गरेका हुन् ।
स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्छ । यो सेवा सञ्चालनमा ल्याएको वीरको नाक, कान र घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले एलर्जी के कारणले भयो भन्ने थाहा पाईने र त्यसले उपचारका निकै नै सजिलो हुने बताईन् ।
यो स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउँछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्दछ ।
यो विशेषगरी हाछिउ आउने, नाक चिलाउने, छालामा डावर आउने, नाक बन्द हुने मात्रै होइन कतिपयमा एलर्जीको कारणले छातीमा दम पनि हुने गर्छ । एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत विभिन्न समस्या हुन्छ । यी सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ डा. जिसीले बताइन् ।
डा. जिसीले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताईन् । उनले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महंगो रहेको उल्लेख गरिन । हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नु पर्ने बाध्यता रहेको छ।
यो सेवा वीरमा बिस्तार हुँदा आम सर्वसाधारणको सहज पहुँच भएको र अस्पतालबाटअति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको पनि अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतले जानकारी दिनुभयो। उनले भने, इएनटीको विशेषज्ञ सेवा भई नै रहेको थियो तर हामीले त्यसमा थप सहजता र परीक्षणका लागि स्कीन प्रिक टेष्ट सेवा सञ्चालनमा ल्याएका हौं र अहिले आएर जनशक्ति पनि प्रयाप्त रहेको समेत बताए ।
डा. बस्नेतले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताए । त्यसलाई ध्यान दिएर आउँदो हप्ता देखि अप्रेसनका लागि छ दिन नै तोक्ने योजना बनेको जानकारी दिए ।