काठमाडौं, १८ पुस २०७९
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । गत विहिबार शहरी विकास तथा भवन निर्माण विभागले टेण्डर आह्वान गरेको थियो ।
विभागले आगामी तीन महिनापछि भवन निर्माणको काम सुरु हुने गरी प्रक्रिया अघि बढेको छ । टेण्डर आह्वान, मूल्यांकन लगायतको काम सकेर निर्माण सुरु गर्न करिब तीन महिना लाग्ने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।
गौतमका अनुसार भवनको डिजाइन सबै तयार भइसक्यो, टेण्डर आह्वान पनि भयो र टेण्डरको प्रक्रिया, मूल्याकंन सकेर नयाँ भवन निर्माणको प्रक्रियामा जान तीन महिनाजति लाग्न सक्छ। करिब ३ अर्बको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो । उक्त भवन साढे तीन वर्षमा निर्माण कार्य सक्ने अस्पतालको योजना भएकोअधिकारी गौतमले बताए। हाल भएका पुराना भवनहरु बिरामीको उपचारलाई ध्यानमा राख्दै पालै पालो भत्काइनेछ । सुरुमा अस्पतालको ओपिडी छेउको क्वाटर भवन, टिकट काउन्टरको पहेलो भवन र एआरटी सेन्टरको भवन भत्काइने गौतमले जानकारी दिए ।
तीन सय शय्याको उक्त भवन ६ तल्लाको डिजाइन गरिएको छ । सबैभन्दा तल बेसमेन्ट पार्किङ्ग, ग्राउण्ड फ्लोरमा इमरजेन्सी, ओपिडी, रेडियोलोजी विभाग रहनेछन् । पहिलो तल्लामा प्रयोगशाला, ओपिडी र फिभर वार्ड रहनेछ ।
त्यस्तैगरी दोस्रो तल्लामा प्रयोगशाला विशेष, जेनरल वार्ड, इमरजिङ्ग आइसोलेसन वार्ड, तेस्रो तल्लामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, नवजीवन वार्ड लगायत, चौथोमा टिबी, रेबिज/टिटानस, छालारोग विभाग, पाँचौ तल्लामा आइसीयू, शल्यक्रिया र सेमिनार हल रहनेछ भने छैठौँ तल्लामा लन्ड्री रहनेछ ।