कञ्चनपुर, ३ असोज २०८०
कञ्चनपुरको बेलौरी स्थित रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ड्युटी गरिरहेका स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ। बिरामीको आफन्त भन्दै एक व्यक्तिले ड्यूटीमा रहेका स्वास्थ्यकर्मी माथि आक्रमण गरेका हुन्।
बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो। मंगलबार राती ११:१५ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका गैरेमाथि बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले आक्रमण गरेका हुन्।
केन्द्रको सिसिटिभी फुटेज अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ। आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए। सिसिटिभी फुटेज अनुसार खड्काले प्रहरीकै अगाडि स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण र गालीगलौज गरेको देखिन्छ।
आक्रमणकारी खड्काले उपचारका क्रममा ढिलाई गर्नुका साथै टाँका लगाउन धागो छैन भनेपछि विवाद भएको स्विकार गरे। उनले आक्रमण नभइ आफूले धक्का मात्र दिएको प्रतिक्रिया दिएका छन्।
श्रीपुर प्राथमिक स्वास्थ्यकेन्द्रले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाही नगरे आकस्मिक सेवा बाहेकका सेवा बन्द गरे चेतावनी दिएको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भए पनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले बताएका छन्।
घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागिरी शैलीमा आएर अनायासै हातपात र गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गर्दै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर बिष्टले अन्यथा स्वास्थ्यकर्मीहरूले अन्य विकल्प अपनाउने चेतावनी दिएका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीले भने दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ।