धनगढी, १७ फागुन २०७९
सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन तथा बिस्तारित स्वास्थ्य सेवा शुरु भएको छ। मङ्गलबार देखि प्रादेशिक अस्पतालमा दुवै सेवा शुरु भएको हो।
सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंह अस्पतालमा सो सेवाको उद्घाटन गर्नु भएको छ।
विस्तारित अस्पताल सेवाका लागि ओपिडि टिकट दर्ता सेवा सञ्चालन दिउँसो २ वजेदेखि बेलुका साढे चार बजेसम्म खुला हुनेछ। विस्तारित अस्पताल सेवामार्फत सेवा लिएका विरामीले ८ दिनसम्म फेरि परामर्श सेवा लिन आउँदा थप दस्तुर लाग्ने छैन। ओपिडीमा विस्तारित सेवा लिएका विरामीले भने शल्यक्रिया र प्रयोगशाला जाँच गर्नुपरे विस्तारित अस्पताल सेवा अन्तर्गत नै गराउनुपर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए।
विस्तारित स्वास्थ्य सेवा अन्तर्गत उपचार गराउने विरामीले स्वास्थ्य बीमा तथा सामाजिक सेवा इकाईमार्फत प्राप्त गर्ने सुविधा पाउने छैन। विस्तारित अस्पताल सेवा अन्तर्गत विरामीले परामर्श शुल्क ४ सय तिर्नुपर्ने छ भने प्रयोशाला र शल्यक्रिया शुल्क निजी अस्पतालको भन्दा कम लाग्ने डा. पाण्डेले बताएका छन्।
विस्तारित अस्पताल सेवा सञ्चालन गरिएपछि अस्पतालमा उपचार गर्न आउने सबै विरामीले उपचार गर्न सक्ने विश्वास अस्पतालका अध्यक्ष नरबहादुर शाहको छ। उनले लामो प्रतिक्षापछि विस्तारित अस्पताल सेवा दिन अस्पताल सक्षम भएको बताएका छन्।
सेतीमा विस्तारित अस्पताल सेवा सुरू भएसँगै टाढाबाट आउने विरामीले अर्को दिन मात्रै उपचार पाउने अवस्था हट्ने शाहको दाबी छ। विस्तारित अस्पताल सेवा सञ्चालनमा आएसँगै सेतीमा पालो नपाएर निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता हट्ने अध्यक्ष शाहले बताए।