धनगढी, २१ माघ २०७८
सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन् ।
चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । जसका कारण कुरुवामा समेत सङ्क्रमणको जोखिम देखिएको छ ।
सघन उपचार कक्ष बाहिर भेटिनुभएका कुरुवा वीरसिंह धामीले भन्नुभयो,‘ ‘एकातिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ, अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नुपर्दा आफै सङ्क्रमित भइने जोखिम छ ।’’
बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्याउन २४सै घन्टा कुरुवा बस्नै परेको उहाँको भनाइ छ ।
गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो ।
बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ ।
कोरोना भाइरस शुरु भएदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २ सय ८२ व्यक्ति सङ्क्रमित भइसकेका छन्
विगत एक हप्ताभित्रमा सङ्क्रमित मध्ये ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।