कैलाली, २० वैशाख २०७८
कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो।
फाउन्डेशनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको फाउन्डेशनका संस्थापक श्याम तायलले जानकारी दिए। डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आज नै उपलब्ध गराइने उनले बताए।
यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ। अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशका मुख्य चारवटा अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइने तायलको भनाइ छ।
यहाँका अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका बिरामी बढ्दै जाँदा अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले १०० वटा खाली सिलिन्डर उपलब्ध गराउन अपिल गरेको जनाइएको छ।
रासस
Comments 1