काठमाडौं, ६ वैशाख २०८०
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ ।
पौडेललाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको थप उपचार दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ ।
पौडेललाई बिदाइ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद लगायतका मन्त्रीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
हिजो मंगलबार बिहान राष्ट्रपति पौडेल बेहोश भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँको छातीमा पीप जमेको अस्पताल स्रोतले जनाएको छ ।
एक हप्ता अगाडि पनि उहाँ बिरामी परेर शिक्षण अस्पतालमै उपचार गरेर फर्किनुभएको थियो । पौडेलको परिवारले नै थप उपचारका लागि भारत लैजान चिकित्सकसँग आग्रह गरेका हुन् ।