काठमाडौं, ६ असार २०८०
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालमा कमी देखिएपछि नियन्त्रण गर्न मंगलबार छातीमा दुई कोठे स्थायी पेसमेकर राखिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले तीन दिन सम्म मुटुको चालको अनुगमन गर्दा बेलाबेलामा कम हुने गरेको देखिएपछि पेसमेकर राख्नुपरेको बताउनुभयो।
प्राडा. गजुरेलका अनुसार मुटुको चाल प्रति मिनेट ६० देखि १०० लाई समान्य भनिन्छ। राष्ट्रपतिको मुटुको चाल ४० देखि ५० सम्म मात्र पुगेको देखियो। मुटुको चाल ५० भन्दा तल पुग्दा उहाँलाई रिंगटा लाग्ने लगायतका समस्या हुने गरेको थियो। डा. गजुरेलले भने। मुटुको चाल कम हुन लाग्दा पेसमेकरले बिधुतिय झट्का दिएर पुनः समान्य बनाउने गर्छ। पछिल्लो पटक गत शनिबार राति स्वास्थ्य अवस्था असामान्य भएपछि पौडेललाई अस्पताल पुर्याइएको थियो। चिकित्सकको निरन्तर निगरानीमा अस्पतालको सिसियुमा राखेर उपचार भइरहेको छ।
यसअघि गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जिओप्लाष्टी गरेर पौडेलको मुटुको धमनी खुलाउन स्टेन्ट समेत हालिएको थियो। तर यो उपचार गरेर पनि अस्पतालले आधिकारिक रूपमा केही भनेको छैन। पछिल्लो तीन महिनामा पाँच पटक पौडेल अस्पताल भर्ना भइसकेका छन्। पेटको अल्सर, ढाड दुख्ने र छाती सम्बन्धि संक्रमणपछि उनलाई पछिल्लो समय मुटुको समस्या समेत देखिएको हो।