चितवन ,३ मंसिर २०७७
भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपेरीटेण्डेण्ट डा. राजन पाण्डेले राजिनामा दिएका छन । अस्पतालको विकास गर्ने जिम्मेवारी बोकेका डा. पाण्डे दुई महिना कटेपछि जिम्मेवारीबाट पछि हटेका छन । बुधवार उनले स्वास्थ्य मन्त्रालयमा राजिनामा दिएका हुन । अस्पताल भित्रको राजनिती र खिचातानीको कारण उनले राजिनामा दिएका हुन ।
अस्पतालको ब्यवस्थापनको जिम्मेवारीमा उनी असफल भएका छन । उनले तिहार अघि नै राजिनामा दिने तयारीमा थिए । आफुले ब्यवस्थापनको पक्ष भन्दा उपचारको क्षेत्रमा रमाउने कारण राजिनामा दिएको बताए । ‘ म फिजिसियन हुँ मलाई विरामीको उपचारमै रमाईलो लाग्छ । ब्यवस्थापनको पाटोमा मन रमाएन ’ डा. पाण्डेले हेल्थ न्यूज संगको कुराकानीमा भने ‘ मेरो नियमित जिम्मेवारी भनेको विरामीको उपचार हो त्यसैमा लाग्छु ’ ।
डा. पाण्डेले भरतपुर अस्पतालका डा. जगन्नाथ तिवारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर विदामा बसेका छन । उनले भरतपुर अस्पतलामै काजमा रहेर काम गर्न चाहेको बताए ।
भरतपुर अस्पतालको विकासको लागी जिम्मेवारी पाएका पाण्डे असफल भए । अस्पताल विकासका लागी उनले काम गर्न नसकेको भन्दै उनको टिप्पणी हुने गरेको थियो ।
डा. पाण्डेले सामान्य खालका निर्णय समेत गर्न नसकेर अस्पताल विकस समितिमा लाने गरेका थिए । अस्पतालको ब्यवस्थापनको पाटो सम्हाल्न नसकेपछि उनले राजिनामा दिएका हुन । पाण्डे भदौको २८ गतेदेखी हाजिर भएका थिए ।