काठमाडौं, ५ जेठ २०७९
जनस्वास्थ्य तथा पोषणविद् राजकुमार महतो स्वास्थ्य क्षेत्रमा अनुभव गरेर राजनीतिमा लागेपछि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उहाँ सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।
महतोले ३ हजार ९९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए।
यस्तै उनको गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र महतो पनि चुनावी मैदानमा थिए। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोको दाई हुन्।
कांग्रेसका राजकुमारले ३ हजार ९९५ मत ल्याएर जित हासिल गर्दा महेन्द्र महतो २ हजार ८८५ मत सहित तेस्रो स्थानमा खुम्चिए।
राजकुमार लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्ति हुन्। उनले सभे द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन लगायतका संस्थामा रहेर काम गरेका छन्। उनी जनस्वास्थ्य र पोषणविद् हुन्।