काठमाडौं, ११ वैशाख २०७८
देशभर संचालित अभिमुखीकरण र तालिम कार्यक्रममा एकरुपता र गुणस्तरीयता ल्याउन हालै तापलम पुस्तिका निर्माण गरिएको छ । निर्मित पहिलो स्वास्थ्यकर्मी र दोश्रो महिला स्वास्थ्य स्वयंसेविका तथा बिद्यालयका शिक्षकशिक्षिकाका लागी तालिम पुस्तिका एक कार्यक्रमका बीच स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिहले सार्बजनिकरण गर्नु भएको छ ।
साथै बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक,प्रमुख तथा फोकल पर्सन,जिल्लाका स्वास्थ्य प्रमुख,महानगर तथा उपमहानगर र नगरपालिकाका स्वास्थ्य प्रमुख स्वास्थ्यकर्मीको सहभागीता रहेको अभिमुखीकरण कार्यक्रम पनि शुभारम्भ गर्दे महानिर्देशक डा. सिंहले स्वास्थ्य क्षेत्रमा राम्रो र प्रशंसनीय माईलस्टोन रहेको बताउदै सरकारी सेवामा एकिकृत हुन नसकेको बिशेषज्ञ सेवाहरु सर्वसाधारणको पहुचमा पुर्याउन यो कार्यक्रम र पुस्तिका कोशेढुगां बन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रमको उदेश्य तथा सहभागीहरुलाई स्वागत शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले गर्नु भएको थियो ।
सहभागीका तर्फबाट लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गीरी र ललितपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले आफ्नो तहमा योजना बनाउन,कार्य गर्न र जनचेतना फैलाउन यस कार्यक्रम र पुस्तिकाले धेरै सहयोग गर्ने मन्तब्य राख्नु भएको थियो ।
बिशेषज्ञ सेवाका रुपमा परिचित आँखा,नाक, कान, घाँटी र मुख स्वास्थ्य सेवा स्वास्थ्य संरचनाको तल्लो तहसम्म पुर्याउन तथा आम नागरिकमा रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न उपचारात्मक सेवा महाशाखा अन्तर्गत रहेको आँखा नाक,कान, घाँटी तथा मुख स्वास्थ्य शाखा लागीरहेको छ । बिशेषज्ञ सेवाको स्वास्थ्य प्रर्वद्धन,समस्याको रोकथाम,रोग शुरुकै अवस्थामा पहिचान र प्रेषण गरी रोगको मात्रा, गाम्भिर्यता तथा अपांगता न्युन गर्न सफल रहन्छ ।
यसैक्रममा बिगत २ बर्षदेखी हरेक स्थानीय तहमा शसर्त कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविका,बिद्यालयका शिक्षकशिक्षिका,बिद्यार्थी र स्वास्थ्यकर्मीका लागी अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम संचालन गर्दे आएको आँखा,नाक, कान, घाँटी र मुख स्वास्थ्य प्रमुख बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकीले बताउनुभएको छ ।
प्रदेश १ र २, कर्णाली र सुदुरपश्चिमका लागी पनि निकट भबिष्यमा अभिमुखीकरण गरिने डा. बुढाथोकी बताए ।