काठमाडौं, २० भाद्र २०८०
परोपकार प्रसूति तथा स्त्री रोग अस्पातलले आजदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।
अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजदेखि लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको हो ।
अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको जानकारी दिए ।
डा. अधिकारीले मुलुकको एकमात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए ।
स्त्रीरोग अस्पतालले वि.स.२०१६ साल भदौ १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सेवा दिन सुरु गरेको थियो ।