नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्।
बिहीबार आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य क्षेत्रमा सेवा गर्दा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र मानव सेवामा समर्पित भएर काम गर्न सुझाव दिए। सिग्देलले चिकित्सकहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थानका कार्यकारी निर्देशक प्रा.स.र. डा. भैरवकुमार हमालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा उनीहरूका परिवारजनको उपस्थिति थियो।
नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा योगदान पुर्याउने उद्देश्यले २०६८ सालमा स्थापना गरेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट हालसम्म ९४४ जना चिकित्सक दीक्षित भइसकेका छन्।






